आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज शुक्रबार पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र समेत रहेको तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीमगर, पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगर, मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमाल, पुथा उत्तरगङ्गा गाउँपालिका प्रमुअ प्रशासकीय अधिकृत ध्रुव वि.क. लगायत विभिन्न राजनीतिक दलको उपस्थितमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।
उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ । भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उपनिर्वाचनका लागि पुथाउत्तरगङ्गामा ११ हजार १ सय ८० मतदाता रहेका छन् भने २२ वटा मतदात स्थल रहेको छ ।








