काधुरीद्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण


रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ मैकोटमा काधुरी द्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण भएको छ ।काधुरी को आर्थिक तथा भौतिक सहयोगमा निर्मित खानेपानीका ३५७ वटा धाराहरु समुदायमा हस्तान्तरण भएको हो ।आज काधुरी संस्था नेपालका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङको प्रमुख र पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगरको विशेष उपस्थितिमा धारा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । यस्तै हस्तान्तरण कार्यक्रममा काधुरी संस्था द्वारा सञ्चालित मैकोट स्योरुम खानेपानी योजना प्रोजेक्ट म्यानेजर जुद्ध पुन, फिल्ड सुपरभाइजर राम बहादुर गुरुङ, पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष विरमान कामी लगायत अन्य समुदायको उपस्थिति रहेको थियो । काधुरी संस्थाले विगत ७ महिना देखि मैकोट स्योरुम खानेपानी योजना निर्माण कार्य सुरुवाट गरी हालै मात्र ३५७ वटा खानेपानी धाराहरुको निर्माण सम्पन्न गरेको हो । काधुरी संस्थाले निर्मित सम्पूर्ण संरचनाहरु मैकोट स्योरुम खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ ।

खानेपानी निर्माणको लागि स्थानीय सरकार र जनसमुदायको राम्रो साथ पाएको काधुरी संस्था नेपालका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङले बताउनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिकामा काधुरी संस्थाबाट निर्मित पहियो योजनाले सफल पाएकोमा हर्षित भएको डा. गुरुङले बताउनुभयो । धारा हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै डा. गुरुङले स्थानीय सरकार र जनसमुदायको साथ पाए पुथा उत्तरगङ्गा गाउँपालिका भित्र आवश्यक्ता अनुसार अन्य योजना पनि निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मैकोट गाउँमा विगतदेखि नै खानेपानीको समस्यामा रहेकोले काधुरी संस्थासँग छलफल गर्दा खानेपानी निर्माण मैकोटमा गर्नु पर्छ भनेर छनोट गरेको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । गाउँपालिका अध्यक्ष घर्तीले काधुरीका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङसँग गरेको छलफललाई स्मरण गर्दै पहिलो प्राथामिकतामा मैकोटमा गरौँ भनेर सल्लाह भएको बताउनुभयो ।यस्तै अध्यक्ष घर्ती मगरले छोटो समयभित्र नै मैकोटको खानेपानी समस्या समाधान गरिदिएकोमा काधुरी संस्थालाई धन्यवाद दिनुभएको थियो । खानेपानी धारा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मैकोटमा खानेपानी समस्या समाधान भयो अब यहाँको अर्को समस्या सडक पुलको हो अर्को वर्ष सम्म उक्त समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मैकोट स्योरुम खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनिमान पुनको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष विरमान कामीले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन स्थानीय सन्देश नेपालीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार