रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाले सहिद परिवारलाई आयआर्जन कार्यक्रम अन्तर्गत ५० लाख अनुदान उपलब्ध गराएको छ । गत मंसिर २१ गते आर्थिक विकास समितिको संयोजक जसबहादुर श्रीपालीको अध्यक्षमा बसेका बैठकको निर्णयअनुसार सहिद परिवार लगायतको अन्य कृषि र पशु तर्फ विभिन्न प्रस्तावना माग गरिएको थियो ।
माग गरेको प्रस्तावनामा ६१ सहिद परिवारको प्रस्तावना आएको मध्ये ५० जना सहिद परिवारलाई आर्थिक विकास समितिको बैठकले छनोट गरेको छ । आर्थिक विकास समितिको बैठकले ५० जना सहिद परिवारलाई जनही १ लाख रुपियाँको आयआर्जन कार्यक्रम अनुदान दिने निर्णय भएको हो ।
सहिद परिवारले १ लाख रुपियाँ बराबरको आयआर्जन कार्यक्रममाबाट आफुले गर्न चाहेको कार्यक्रम गर्न सक्ने पुथाउत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । अध्यक्ष घर्ती मगरको अनुसार सहिदहरुको बलिदानले गर्दा नै देशमा संघीय गणतन्त्र स्थापना भएकोले सहिद परिवारलाई अनुदान उपलब्ध बनाउने निर्णय भएको हो । सहिद परिवारले जनही १ लाखबाट आयआर्जन कार्यक्रमले केही न केही टेवा पुग्ने अध्यक्ष घर्ती मगरले बताउनुभयो । चालु आर्थिक वर्षमा छुटेका सहिद परिवारलाई अर्काे आर्थिक वर्षमा समेट्ने अध्यक्ष घर्ती मगरले बताउनुभयो ।
सहिद परिवार तर्फको विभिन्न कार्यक्रममा टाढाका वडाहरुलाई प्राविधिकहरुको सहयोगमा वडामै सम्झौता गर्ने वातावरण मिलाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले बताउनुभयो । यस्तै अन्य कार्यक्रममा कृषि अन्तर्गत ३६ लाख छ हजार र पशु तर्फ ३८ लाखको काम हुने गरी समूह फर्महरु छनोट भएको कृषि सेवा शाखा प्रमुख ओमप्रकाश ओलीले बताउनुभयो । कार्यक्रममा प्राविधिकको फिल्ड मुल्यांकनको आधारमा छनोट गरिएको पशु सेवा शाखा प्रमुख भिम केसीले बताउनुभयो ।









