
बरम बुदामगर
२२ भदौ २०७९, बुधबार
पुथाउत्तरगंगा गाउँपालिकाद्वारा घरदैलोमा स्वास्थ्यकर्मी सेवा । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाले अबदेखि घर घरैमा स्वास्थ्यकर्मी सेवा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाको विकट भुगोलमा सुचिकृत साथै हिमाली भुभागमा अवस्थित पुथाउत्तरगंगा गाउँपालिकाका १४ वटा वडाका घर घरमा पुगेर स्वास्थ्य सेवा दिने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको छ ।

अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत घरमा स्वास्थ्यकर्मी कार्यक्रम मंगलबार देखि समुदाय स्तरमा घुम्ती स्वास्थ्यकर्मी सुरुवात गरिएको छ । अहेव र अनमी गरी ११ जना स्वास्थ्यकर्मीहरूको कार्यक्षेत्र तोकिदिएर खटाइएको गाउँपालिका स्वास्थ्य संयोजक समीर गिरीले जानकारी दिनुभयो । घर घरमा स्वास्थ्य कार्यक्रम मार्फत खटाइएका स्वास्थ्यकर्मीले पालिका भित्र हरेक टोल टोलका घरमा पुगि स्थानीयको स्वास्थ्य अवस्था चेकजाँचका सँगै स्वास्थ्य परामर्श दिनेछन् । बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा, अशक्तलाई विशेष प्राथमिकता दिँदै समग्रको स्वास्थ्य अवस्था चेकजाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श दिने स्वास्थ्य संयोजक गिरीले बताउनुभयो ।

लक्षित वर्गको निःशुल्क स्वास्थ्य बिमा, टेलिमेडिसिन मार्फत चिकित्सकसँग परामर्श तथा आधारभूत स्वास्थ्य र औषधि उपचार सेवा नागरिकको घरमा प्रदान गरिने गाउँपालिकाले बताएको छ । बच्चाको नियमित खोप, शिशुलाई पोषणको अवस्थाबारे अभिभावकलाई जानकारी गराइनेछ । दैनिक जनतासँग जोडिएको लोकप्रिय कार्यक्रम प्रति गाउँपालिकाबासी खुशी भएका छन् । कार्यक्रम सुरुवात नहुँदै गाउँपालिकाले सुत्केरी व्याथा लागेर उच्च रक्तश्राव भएका ३ जना गर्भवती महिलाको उद्वार गरेको थियोे । सहिद स्मृति स्वास्थ्य टेलिमेडिसिन बाट २४ सै घण्टा चिकित्सक द्वारा फोनबाट परामर्श लिन पाउनेछन् ।












