मतदाता नामावली अद्यावधिक सुचना


बरम बुदामगर

१२ भदौ २०७९

मतदाता नामावली अद्यावधिक सुचना । रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकामा आज बाट हरेक वडा कार्यालयमा मतदाता नामावली अद्यावधिक सुचना टाँस गरिएको छ । आगामी मंसिरमा हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको अन्तिम नामावली तयार गर्न जिल्लाभर यो भदौ १२ देखि १९ गतेसम्म संचालन हुने मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम गर्न जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले परिपत्र गरेको छ । निर्वाचन कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ ।

 

निर्वाचन आयोगले तय गरेको निर्वाचन सम्बन्धी कार्यक्रम कार्यन्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न हरेक वडा वडामा सुचना टाँसन पत्र सहित पठाइएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो । जिल्लाका तीन स्थानीय तहका सम्बन्धित कर्मचारीसँग वडा कार्यालयमा पठाई सुचना टाँस गरेर सो को जानकारी गराउनुपर्ने भनिएको थियोे ।

 

गाउँपालिकाले भदौ १० गते देखि १२ गतेसम्म पालिका र वडा कार्यालयमा मतदाता नामावली टाँस गर्न परिपत्र गरेको नि.प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले जानकारी दिनुभयो । १३ देखि १५ गते सम्म प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्याउने, दोहोरो हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सम्पूर्ण मतदातालाई जानकारी गरिएको छ ।

 

जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने छन् । सो कार्यक्रम मार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरू सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता दिइनेछ ।

 

त्रुटि सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने निर्वाचन अधिकारी ओलीले जानकारी दिनुभयो ।

 

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा १८ वर्ष उमेर पूरा भएका मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने छन् । स्थानीय तहमा नाम दोहोरो परेका मतदाताको विषयमा जाँचबुझ गरी निर्णय गर्ने, बसाई सरेका र मृत्यु भएका मतदाताको सम्बन्धमा जाँचबुझ गरी निर्णय गर्ने, नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको नाम हटाउने काम गरिने छ । कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन स्थानीय, राजनैतिक दल, गैरसरकारी संघ-संस्था, नागरिक समाज, सञ्चारकर्मी सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार