कार्यप्रणालीमा हुने आधारभूत परिवर्तनले सेवाग्राही र सेवा प्रवाह गर्ने कार्यालय दुवैलाई सजिलो हुन्छ भन्ने गतिलो उदाहरण हो– परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग । विभागले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अनलाइनबाटै दिन थालेपछि सेवाग्राहीको भिड हटेको छ ।
शुक्रबार अपराह्न त्रिपुरेश्वरस्थित विभाग पुग्दा करिब ४० जना सेवाग्राही मात्रै विभाग परिसरमा थिए । प्रहरी प्रमाणपत्र लिने सेवाग्राहीहरूको भौतिक उपस्थिति आवश्यक नपरे पनि अन्य कागजपत्र प्रमाणीकरणका लागि औसत तीन सयजना मात्रै विभाग जाने गरेका छन् । जब कि विगतमा प्रहरी प्रमाणपत्र प्रमाणीकरणका लागि मात्रै दैनिक औसत तीन हजार सेवाग्राही र उनका आफन्त विभाग जाने गरेका थिए ।
‘अब प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि अनलाइनबाट आवेदन आउँछ । अनलाइन फाराम रुजु गरेपछि कागजात प्रमाणित गरेर हाम्रो प्रणालीले नै छाप लगाइदिएर सेवाग्राहीको इमेलमा पठाइदिन्छ,’ विभागका महानिर्देशक प्रकाशमणि पौडेल भन्छन्, ‘सेवाग्राहीलाई इमेलमा कागजपत्र प्राप्त भएको छ । कार्यालयमा भिड घटेको छ । हामीलाई पनि काम गर्न असाध्यै सहज भएको छ ।’
विभागले प्रहरीको सर्भरबाट सेवाग्राहीले पेस गरेको कागजपत्र हेर्न सक्ने प्रणाली विकास गरेको महानिर्देशक पौडेलले जानकारी दिए । आवेदकले विभागको अनलाइन प्रणालीमा बुझाएको कागजपत्रलाई प्रहरी सर्भरमा पहिले बुझाएको कागजपत्रसँग अनलाइनबाटै भेरिफाई गर्न सकिने हुनाले सेवाग्राहीले दोहोरो फाराम पनि भर्नुपर्दैन ।
राजस्व भुक्तानी पनि अनलाइनमार्फत नै गर्न सकिनेछ । ‘अनलाइन फाराममा आवश्यक कागजात (डकुमेन्ट) संलग्न गरेर भरेपछि अनलाइन प्रणालीले नै स्वीकृत गरेर कागजातमा छाप लगाइदिन्छ । सेवाग्राहीले इमेलमा कागजात पाउँछन्,’ महानिर्देशक पौडेल भन्छन्, ‘कार्यालय समय सकिने वेलामा आएको फारामलाई हेरेर भोलिपल्ट यथाशीघ्र सिस्टमले पठाइदिने व्यवस्था छ । वेलैमा आएका फारामका आधारमा त्यही दिन प्रमाणीकरण गरिदिन्छौँ ।’
परराष्ट्रमन्त्री एनपी साउदले केही दिनअघिको भेटमा विभागमा पाँच लाखभन्दा कम मूल्यको सफ्टवेयरबाट यी सबै काम गराएको जानकारी दिएका थिए । महानिर्देशक पौडेलले यसबारे गत वैशाखतिरै परराष्ट्रमन्त्रीलाई ब्रिफिङ गरेका थिए । पौडेलका अनुसार तीन महिनाको तयारीमा अनलाइन प्रणाली लागू भएको थियो ।
‘यसले सरकारलाई प्राप्त हुने राजस्व घटेको छैन । साउनदेखि माघ मसान्तसम्म १८ करोड ७० लाख ४३ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको छ । मुख्यतया, प्रहरी रिपोर्टको प्रमाणीकरण गर्न (कन्सुलरको छाप लगाउन) आउनेहरूको भिड हुन्थ्यो । दैनिक तीन हजार सेवाग्राही र उनीहरूका साथीभाइ वा आफन्त आउँदा कार्यालयको कम्पाउन्ड भरिभराउ हुन्थ्यो । अहिले यो काम अनलाइनबाटै भएपछि भिड घटेको छ ।’
अन्य कागजात प्रमाणीकरणलगायतको काममा औसत दैनिक तीन सयजना सेवाग्राही पुग्ने गरेको र उनीहरूको काम बढीमा डेढ घन्टाभित्र सकेर पठाइदिने गरेको महानिर्देशक पौडेलको भनाइ छ । साउनदेखि माघ मसान्तसम्म दुई लाख ६१ हजार चार सय ४७ जनाले अनलाइन कन्सुलर प्रमाणीकरण सेवा लिएका छन् । यीमध्ये सात महिनामा कार्यालयमै पुगेर ५९ हजार आठ सय ८८ जनाले सेवा लिएका छन् । साउनदेखि माघसम्म तीन लाख ७१ हजार कागजात प्रमाणीकरण भएको विभागको तथ्यांक छ ।
साभार: https://nayapatrikadaily.com/









