तकसेरामा हुने जिल्लामै सबैभन्दा ठुलो धनराशिको राष्ट्रिय भलिबल खेलकुदको सबै तयारी पूरा भएको छ । “राँके सेराबाला जाऔँ !! भाषा, संस्कृति र इतिहास बचाऔँ !! ३० औँ वार्षिकोत्सब मनाऔँ !! राष्ट्रको प्रतिष्ठा उठाऔँ” भन्ने मुल नारा सहित श्री हिमालय श्रृङ्खला चौंरी युवा क्लबको ३० औँ वार्षिक उत्सव तथा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी साउन ४ गतेदेखि ८ गतेसम्म तकसेराको सेराबालाको प्राङ्गणमा हुने खेलकुदको सम्पुर्ण तयारी पूरा भएको छ । हिमाली जिल्ला रुकुम पुर्वमा अहिलेसम्मकै सबैभन्दा ठुलो धनराशिको राष्ट्रिय स्तरको खेलकुद पहिलोपटक तकसेरामा संचालन हुने पुर्व सन्ध्यामा पत्रकार सम्मेलन गरिएको छ । साविक तकसेरा गाविस-७ पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तकसेरामा रहेको विक्रम संवत २०५२ सालमा स्थापना गरेर दर्ता गरिएको हिमालय श्रृङखला चौंरी युवा कल्व जिल्लामै पुरानो कल्वको रुपमा परिचित छ । कल्वले माथिल्लो भुभाग खामभाषी समुदायमा छुट्टै पहिचान बनाउन सफल भएको छ । ३० औँ वार्षिकोत्सबको अवसरमा राष्ट्रिय स्तरका ६ समुहले प्रतिस्पर्धा गर्ने कल्वका अध्यक्ष मिलन कुमार बुदा मगर (दिपक) ले जानकारी दिनुभयो । राष्ट्रिय स्तरको पुरुष भलिबलको साथमा महिला भलिबल, महिला/पुरुष फुटसल, दोहोरी गीत प्रतियोगिताको खुल्ला प्रतिस्पर्धा हुनेछ साथमा विविध सांस्कृतिक कार्यक्रमले मेलाको रौनकता थपिदिनेछ । ३० औँ वार्षिकोत्सबमा सहभागी खेलाडी, रेफ्री, प्रशिक्षक, खेलप्रेमी दर्शक सबैको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय तकसेरा, पुथा उत्तरगङ्गा गाउँपालिका, युवा दस्ता सँगै तकसेरावासीले लागि पर्ने कल्वले जानकारी दिएको छ । खेलकुदको विशेष अवसरमा हिमालय श्रृङ्खला चौंरी युवा क्लबले कार्यक्रम तामझाम सहित भव्य रूपमा मनाउने तयारी गरेको अध्यक्ष बुदामगरले बताउनुभयो । सो अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल प्रहरी कल्व, नेपाल सशस्त्र प्रहरी कल्व, कोसी प्रदेश भलिबल कल्व, गण्डकी प्रदेश भलिबल कल्व, कर्णाली प्रदेश भलिबल कल्व र मणिमुकुण्ड भलिबल कल्वले प्रतिस्पर्धा गर्नेछन् । साउन ४ गतेदेखि सुरु गरेर ८ गते समापन गरिनेछ । भलिबल खेलको अन्तर्राष्ट्रिय नियम अनुसार एउटा कल्वले तीन जना विदेशी खेलाडी राख्न पाउनेछन् । सबै खेलाडीहरु साउन २ गते तकसेरामा पुग्नेछन् ३ गते आराम गरेर ४ गतेदेखि खेलमा सहभागी हुने कार्यक्रमका संयोजक तपस बुदामगरले जानकारी दिनुभयो । नेपाली समाजले साउन महिनालाई कालोमासको रुपमा हेरेको पाइन्छ फलस्वरूप खामभाषी मगर समुदायले पनि साउने संक्रान्तिमा एकआपसमा हिलो खेलेर कालकष्ट, लुटो पार गर्दै बेलुका हरेक घरमा राँको बालेर आफुले फलाएको अन्न तथा फलफुल पुजा गरेर चाख्ने गर्छन् । यो क्रम परिमार्जित हुँदै पछिल्लो समय खेलकुद र सांस्कृतिक कार्यक्रमले ठाउँ लिएको छ । कार्यक्रममा सहभागी खेल निर्णायक र खेलाडीहरुको जीवन बिमा सहित आउनेजाने,खान, बस्न सबै खर्च कल्वले बेहोर्ने संयोजक बुदामगरले बताउनुभयो । यसपटकको वार्षिकोत्सब मनाउनुको मुख्य उदेश्य भनेको राष्ट्रिय स्तरको कार्यक्रमले स्थानीय खेलकुदको विकास गर्दै नवयुवाहरूमा खेलप्रतिको रुचि अभिवृद्धि सँगै राष्ट्रिय स्तरका खेलाडीहरूलाई ग्रामीण क्षेत्रसँग जोड्नु तथा सामाजिक एकता र सद्भाव बढाउनु रहेको कल्वका सचिव जीवन बुदा मगरले बताउनुभयो । क्लबले विगत तीन दशकदेखि खेलकुद, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको छ । वार्षिकोत्सब कार्यक्रमका प्रमुख आकर्षणहरू: राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – जसमा देशका चर्चित विभागीय भलिबल कल्व हरूको सहभागिता रहनेछ । विजेता समुहलाई प्रथम पुरस्कार रु ५ लाख, द्वितीय रु ३ लाख, तृतीय २ लाख, सान्त्वना रु १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव बुदा मगरले जानकारी दिनुभयो । राष्ट्रिय खेलाडीको प्रतिस्पर्धाको साथमा विविध खेलकूद प्रतियोगिताहरु जस्तै छेलो, महिला भलिबल, महिला/पुरुष फुटसल लोक दोहरी गीत प्रतियोगिताका खेलहरू समावेश गरिएको छ । महिला भलिबलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश एक लाख, पचास हजार र पच्चीस हजार रुपैयाँ पाउनेछन् । फुटसल तर्फ पुरुष समुहले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश एक लाख, पचास हजार र पच्चीस हजार रुपैयाँ पाउनेछन् । महिला समुहले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश तीस हजार, बीस हजार र दश हजार रुपैयाँ पाउनेछन् । दोहोरी गीतमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश पन्ध्र हजार, दश हजार र पाँच हजार रुपैयाँ पाउनेछन् । साथै छेलो खेलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पाउनेछन् साथमा हरेक विजयी समुहलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिने कल्वले जानकारी दिएको छ ।
सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय लोक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नृत्य, गायन कार्यक्रमहरू सञ्चालन हुनेछन् । यसपटक कल्वले विशेष सम्मान कार्यक्रममा क्लबका संस्थापक सदस्यहरु, पूर्व खेलाडी र समाजसेवीहरूलाई सम्मान गरिने सचिव बुदा मगरले सुनाउनुभयो । वार्षिकोत्सब कार्यक्रममा स्थानीय बासिन्दा, राजनीतिक दल, बुद्धिजीवी र युवाहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । साथै, राष्ट्रियस्तरका अतिथि,पर्यटनकर्मी, खेल विज्ञ, खेल प्रेमी र समाजसेवीहरूको विषेश उपस्थिति रहनेछ ।
हिमालय श्रृङ्खला चौंरी युवा क्लबको ३० वर्षे यात्राले युवाहरूलाई सशक्त बनाउँदै, समुदायलाई समृद्ध गर्दै प्रगतिशिल दिशामा निरन्तर प्रेरणाको स्रोत बनेको छ । यस कार्यक्रमको खेलकुदको माध्यमबाट तकसेराको समृद्ध समाज निर्माणमा क्लबले थप एक कदम पाइला अघि बढाएको छ । राँके मेलाले तकसेराको मौलिकता, भाषा, संस्कार, संस्कृतिको प्रबर्द्धन सँगै नमुना पर्यटकीय गन्तव्यमा थप तेवा पुग्नेछ । कल्वको एक रुपैयाँ बिना सबै रकम सहयोगी दाता बाट संकलन गरेर वार्षिकोत्सबमा ५५ देखि ६० लाख सम्म खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म सबैभन्दा धेरै सहयोग संयुक्त राज्य अमेरिका बाट झन्डै २५ लाख उठेको बाँकी नेपाल लगाएत सबै देश बाट सहयोगको रकम उठने क्रम जारी रहेको सचिव जीवन बुदामगरले जानकारी दिनुभयो ।









