रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गतको तकसेरालाई ऐतिहासिक जीवित सङ्ग्रालयको रुपमा घोषणा गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको ३५ औं कार्यपालिका बैठकले उक्त गाउँलाई ऐतिहासिक जीवित सङ्गालयको रुपमा घोषणा गरिएको पुथा उत्तरगङ्गा गाउँपालिका प्रवक्ता टिकासाई घर्तिले जानकारी दिनुभयो ।
पछिल्लो समय घरका स्वरुपहरु परिवर्तन गरि कङ्क्रित घरहरु निर्माण गर्ने चलन चलेता पनि तकसेरमा भने पौराणिक घरहरुनै जीवित रहेका छन । एक घरको छाना अर्को घरको आगनको स्वरुपमा निर्माण भएका तकसेराका घरहरुको एक विशेषता नै हो । घरहरू एक आपसमा जोडिए घरमा बस्ने मानिसहरुको मन पनि एक आपसमा जोडिन्छ भन्ने सकारात्मक सोचाइले नै यहाँका घरहरु एकआपसमा जोडिएको देख्न पाइन्छ ।
तकसेरा गाउँलाई अहिलेकै अवस्थामा जीवित राख्न सके पछिल्लो पुस्ताले पौराणिक घरहरु कस्ता हुन्छन भनेर अध्ययन गर्ने ठलो सम्म बन्न सक्ने पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । तकसेरामा हालसम्म पौराणिक प्रकृतिका घरहरु नै रहेको र केही तिनका छानाको घरहरुलाई पनि विस्थापित गर्ने योजना रहेको अध्यक्ष घर्तिले जानकारी दिनुभयो । अध्यक्ष घर्तीका अनुसार अहिले पनि तकसेरा अवलोकन गर्न दैनिक पर्यटकहरु आइरहेको हुदा अझै पर्यटकहरु वृद्धि गर्न तकसेरालाई जीवित सङ्ग्रालयको रुपमा घोषणा गरिएको हो ।
तकसेरा गाउँ अहिले सबैको नजरमा रहेको हुदा महत्त्वपूर्ण पर्यटन गन्तव्यको रुपमा स्थापना गर्न सक्ने पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले बताउनुभयो । अधिकृत वि.क का अनुसार पुथा उत्तरगङ्गा गाउँपालिकालाई पर्यटन प्रवर्द्धनबाट नै समृद्ध बनाउन सक्ने थुप्रै आधार रहेका छन ।









